प्रभावकारी विद्युत आपूर्तिको लागी ठोस कदम चाल्न प्रजिअको निर्देशन
१५ कार्तिक, रौतहट । पटक पटक विजुली अवरुद्ध भएको जनगुनासो बढेको बेला जिल्ला प्रशासन कार्यालय रौतहटमा विद्युत शाखाका प्रमुखहरुसँग विद्युतमा रहेका समस्याहरुका बारेमा छलफल भएको छ ।
पटक पटक विद्युत आउने जाने क्रमले आम नागरिकहरुले भोग्नु परेको पीडाका कारण समस्याको पहिचान र समाधानका लागी छलफल भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए । हुकिंग तथा विद्युत चुहावट नियन्त्रणका लागी प्राधिकरणलाई स्थानीय प्रहरी प्रशासनको सहयोगमा कडाईका साथ प्रस्तुत हुन उनले निर्देशन दिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको अध्यक्षतामा भएको कार्यक्रममा गौर, मौलापुर शाखाका विद्युत प्राधिकरणको प्रमुख उपस्थीत रहेका थिए ।
नेपाल विद्युत प्राधिकरणको गौर मौलापुर र चन्द्रपुर तिन वटै वितरण केन्द्रले आफ्नो क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुन नदिन र चुहावट रोक्न आवश्यक व्यवस्था मिलाउने भएका छन । विद्युत आपूर्ति प्रभावकारिताको लागी आवश्यक परेको खण्डमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बललाई समेत समन्वय गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।
किसानहरुले खेतमा धान दाइ गर्दा सो को परालहरु विद्युतको तारमा पर्ने गरी गरेकोले बेलाबेलामा विद्युत आपूर्तीमा समस्या हुने, ट्रान्सफर्मर तथा तारहरु पुरानो भएकोले अत्याधिक भारक्षमताको समस्या समेत उत्पन्न हुने गरेको विद्युत कार्यालय गौर शाखाका प्रमुख माधव प्रसाद यादवले बताए ।