मोरङमा पाँच जुवाडे जुवाखालबाटै पक्राउ

   १६ कार्तिक २०७७, आईतवार १०:५५  

१६ कार्तिक, रौतहट । मोरङबाट ५ जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ केराबारी गाउँपालिका ६ का भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई जुवाखालबाटै नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो ।

चाडपर्वमा जुवा खालहरु बढीरहेको सूचनाका आधारमा केहि दिनदेखि मोरङ प्रहरी जुवा नियन्त्रण अभियानमा लागेको छ । विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले नगदसहित पाँच जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१५ का ३६ वर्षीय अरुण केसी, ३८ वर्षीय शैलेश भुजेल, केराबारी गाउँपालिका–६ का ६० वर्षीय भट्टराई, ४३ वर्षीय बोधराज मगर, र धरानकै ३६ वर्षीय हरी खत्री रहेको मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए ।

जुवाखालबाट पक्राउ परेका उनीहरुको साथबाट १३ बुक तास, २ वटा स्कुटी र २ थान मोसा समेत बरामद गरिएको डीएसपी राईले बताए ।