आफ्नै काकारबाबुबाट दुई बालिका बलात्कृत, दुईजना पक्राउ

   १५ कार्तिक २०७७, शनिबार १३:३३  

१५ कार्तिक, रौतहट । ताप्लेजुङमा चाडपर्वकै बेला आफन्तले नै दुई बालिकामाथि जबरजस्ती करणीको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

सिदिङ्वा गाउँपालिका वडा नं ४ साब्लाखुकी १४ वर्षीया र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीकी १७ वर्षीया बालिकामाथि आफ्नै काकारबाबु साइनो पर्नेबाट जबरजस्ती करणीको प्रयास भएको जाहेरी परेपछि प्रहरीले २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिदिङ्वाको वडा नं ४ साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय सेते भनिने आइन्द्रहाङ लिम्बू र आठराइ त्रिबेणी गाउँपालिका वडा नं २ बस्ने २५ वर्षीय बालकृष्ण मावो लिम्बू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी)महेन्द्रकुमार श्रेष्ठका अनुसार आइन्द्रमाथि १४ वर्षीया बालिकालाई मादिबुङस्थित ध्रबेवारीको ठाडोबाटोबाट केहि तल तरुल र मस्यामबारीको एकान्त ठाउँ लगि जबरजस्ती करणी गरेको अभियोग छ ।

यस्तै बालकृष्णमाथि १७ वर्षीया बालिकालाई जुकेटार आहाले गैरी भन्ने ठाउँ नजिकको जंगलमा लगि ललाइफकाइ जबरजस्ती करणी गरेको अभियोग गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।