शुक्रबार थप ३५१७ जनामा कोरोना संक्रमण पुष्टि

   १४ कार्तिक २०७७, शुक्रबार १७:०१  

१४ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय १७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

त्यस्तै, बितेको २४ घण्टामा थप ४ हजार ९६ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म देशभर कोरोनामुक्त हुनेको कुल संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमित ३८ हजार ३५७ जना रहेका छन् ।

यस्तै, थप १६ कोरोना संक्रमितको मृत्यु भएको छ, यससंगै केरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।

यस्तै, बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये काठमाडौँमा १ हजार ५ सय ८ जना, ललितपुरमा २ सय ४९ जना र भक्तपुरमा १ सय ३१ जना रहेका छन् ।