मधेशवादी पार्टीले जनतालाई ठगेको प्रभु साहको आरोप

   १३ कार्तिक २०७७, बिहीबार १८:४४  

 

१३ कार्तिक, रौतहट । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले मधेशवादी पार्टी रूप बदलि बदली जनतालाई ठगी रहेको आरोप लगाएका छन् ।

दशैं, दिपावली तथा छठको अवसरमा रौतहटको गरुडा नगरपालिका-५, महम्मदपुरमा आयोजित शुभकामना आदानप्रदान तथा जनचेतना कार्यक्रममा सांसद प्रभु साहले मधेशवादी दल समाजमा भ्रम फैलाउन फरक फरक समयमा विभिन्न रुपमा प्रस्तुत भएको बहरुपिया पार्टी रहेको बताए।

मधेशवादी दलले समाजमा भ्रम फैलाएर मधेश र पहाडको नाममा जनतालाई ठग्ने गरेको उनको भनाई छ । उनले मधेशी दलले भ्रष्टाचार बढाउने र उदण्ड राजनीति गर्नतर्फ मात्र उद्दत रहेको आरोप लगाए ।

बाबुराम भट्टराई नेकपा माओवादीमा हुंदा पहाडीयाको पार्टी भनेर उफ्रिनेहरु अहिले उनै बाबुरामलाई नेता बनाएर बहुरुपी चरीत्र देखाएको उनको भनाई छ ।

“हिजो हामीलाई पहाडीयाको पार्टी भनेर कुर्लिने यीनै मधेशी पार्टी हुन् । बाबुराम भट्टराई नेकपा माओवादीका नेता हुंदा गाउँ गाउँ पहाडीयाको पार्टी भनेर पुत्ला जलाउने पनि यीनै हुन् । आफुलाई मधेशको ठेकेदार भन्ने यी मधेशवादीहरुको सर्वोच्च नेता बाबुराम भट्टराई हुन् । अब चाहिँ के भन्नेहोला यीनिहरुले ।” सांसद साहले भने, “यीनीहरु भ्रम सृजना गर्ने बहरुपिया ठगहरु मात्र हुन् । भ्रष्टाचार र उदण्डता मात्र मधेशवादीको विशेषता हो ।”

“आज तपाई नजर घुमाएर हेर्न सक्नुहुन्छ, जहाँ जहाँ मधेशी दल छ त्यहाँ भ्रष्टाचार छ, त्यहाँ मधेशीमाथि शोषण छ । चाहे त्यो स्थानीय तहमा होस् चाहे प्रदेश २ को सरकार होस् मधेशवादी दलले भ्रष्टाचारको अड्डा बनाएर राखेको छ ।” उनले भने, “समृद्ध मधेशका लागि यस्ता बहुरुपिया ठगलाई समयमै रोक्न जरुरी छ ।”

सांसद साहले संघ सरकारले मधेशमा संचालन गर्ने सबै कार्यक्रम एवम् परियोजनामा मधेशवादी दलले बाधा पुर्याई काम अवरुद्ध गरेको प्रति आपत्ति जनाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य कुन्दन कुश्वाहा, कटहरिया नगरपालिकाका प्रमुख एवम् नेकपा प्रदेश सदस्य सियाराम कुशवाहा, नेकपा प्रदेश सदस्यद्वय त्रिभुवन साह एवम् मनोज यादवलगायतका नेताहरूको उपस्तिथि रहेको थियो ।