फ्रन्टलाइनमा खटिएका ११ हजार ८ सय भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण

   १३ कार्तिक २०७७, बिहीबार १३:०८  

१३ कार्तिक, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीको बेला फ्रन्टलाइनमा खटिएका ११ हजार ८ सय ११ जना नेपाली सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी ११ हजार ८ सय ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको हो ।

नेपाल प्रहरीका सबैभन्दा बढी कोरोना भेटिएको छ । हालसम्म प्रहरीमा ६ हजार १४ जनालाई कोरोना पुष्टि भएको छ, भने ४७ सय ८३ जनाले कोरोना जिवतेर डिस्चार्ज भएका छन् ।

यस्तै, सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यालयमा ४२३ जना, उपत्यकामा २४५ जना, प्रदेश १ मा १०८ जना, प्रदेश २ मा १२ जना, वाग्मती प्रदेशमा ७२ जना, गण्डकी प्रदेशमा १६१ जना, लुम्बीनी प्रदेशमा ११३ जना, कर्णाली प्रदेशमा ५९ जना र सुदूरपश्चिम प्रदेशमा ३८ जना रहेका छन् ।

त्यसैगरी नेपाली सेनामा पनि संक्रमितको संख्या बढी नै रहेको छ । सेनामा हालसम्म ४ हजार १ सय ६ जनालाई कोरोना संक्रमण भएकामा २ हजार ५ सय १२ जना निको भइ डिस्चार्ज भएका छन्, भने कोरोना संक्रमणकै कारण सेनाका २ जनाले ज्यान गुमाएका छन् ।

यस्तै सशस्त्र प्रहरी बलका १६ सय ९१ जनालाई कोरोना संक्रमण भएको छ । जसमध्ये १३ सय ९१ जना डिस्चार्ज भइसकेका छन् ।