कैलालीमा कुखुराको फर्मभित्र तास खेलिरहेका पाँच जुवाडे पक्राउ

   १२ कार्तिक २०७७, बुधबार १३:०३  

१२ कार्तिक, रौतहट । कैलालीको गौरीगंगा नगरपालिका ६ स्थित कुखुराको फर्मभित्र तास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा मंगलवार राति सुदूर पश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालय समेतबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय रंग साउँद, ४२ वर्षीय राम बहादुर साउँद, ४५ वर्षीय डम्बर शाही, ५२ वर्षीय वीर बहादुर साउँद र ६० वर्षीय भक्त बहादुर शाही रहेका छन् ।

उनीहरूलाई तास खेलिरहेको अवस्थामा समातेको प्रहरीले जानकारी दिए । उनीहरुको साथबाट नगद २ लाख २३ हजार ५ सय रुपैयाँ बरामद भएको प्रहरीले बताए ।