थप दुई संक्रमितको मृत्यु, बागमती प्रदेश प्रमुखलाई कोरोना पुष्टि
१२ कार्तिक, रौतहट । चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ, भने बागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
नवलपुर जिल्ला गैंडाकोट नगरपालिका–२ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ कोरोनाका कारण चितवन मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । यही कार्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा भोलीपल्ट संक्रमण पुष्टी भएको थियो ।
विरामी उनलाई सघन उपचार कक्षमा भेन्टीलेटरको सहायताले उपचार भइरहेको थियो । उनी मधुमेहका समेत रोगी रहेका डा. दयाराम लम्सालले जानकारी दिए ।
यस्तै भरतपुर सरकारी अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोना संक्रमणबाट नै मंगलबार मृत्यु भएको छ ।
बारपाक सुलिकोट गाउँपालिका– १ की युवतीलाई यही कार्तिक ५ गते कोरोना संक्रमण पुष्टी भई श्वासप्रश्वासमा समस्या भएपछि, उनलाई कार्तिक ६ गते अस्पतालको कोभिड आइसीयुमा उपचारका लागि भर्ना गरिएको थियो ।
यो सँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ सय ७८ पुगेको छ । हिजो मात्र स्वास्थ्य मन्त्रालयले थप १४ जनाको मृत्यु भएको पुष्टि गरेको थियो ।
त्यसैगरी, बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । पीसआिर परीक्षण गराउँदा मंगलबार कोरोना पोजेटिभ आउको उनले बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर गएका थिए।
विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए ।
हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ ।