कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु
११ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । रुपन्देहीमा दुई जना र भरतपुरमा एक जना गरी थप तीन जनाको मृत्यु भएको हो ।
तिलोत्तमा–११ बस्ने ५० वर्षीया महिला यही कार्तिक १० गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन अस्पतालमा चपचारका लागि भर्ना गरिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा सोमबार राति करिब ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेहिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।
यस्तै, बुटवल–१३ का ५२ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो
यही कात्तिक ७ गते पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका बुटवलका पुरुषको आज बिहान ६ बजे मृत्यु भएको डा. गौतमले जानकारी दिए ।
त्यसैगरी, चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा भरतपुर महानगरपालिका–२१ का ५६ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।
यही कात्तिक ५ गते श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका उनलाई कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी लामो समयदेखि मुटु तथा मिर्गौला रोगबाट समेत पीडित थिए ।






