कोरोना संक्रमणका कारण थप दुई जनाले ज्यान गुमाए
८ कार्तिक, रौतहट । बाँके र धनुषमा गरी थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगन्ज उपमहानगरपालिका– १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।
यही असोज २६ गते श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा पीसीआर परीक्षण गर्दा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताए । उनलाई असोज २७ गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियोे ।
रोगको प्रकृति अनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गर्दै गर्दा ती पुरुषको अति सघन कक्षमै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपाली सेना र परिवारबीच शवको व्यवस्थापन गर्नेबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।
त्यस्तै, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ बस्ने ६५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
ती महिलालाई एकाएक ज्वरो लागेको र श्वास प्रश्वासमा कठिनाइ भएपछि शुक्रबार बिहान प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक बिजयकुमार झाले जानकारी दिए ।
भर्ना गरिएकै दिन उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । शुक्रबार राति ८ बजेतिर कोरोनाको रिपोर्ट पोजेटिभ आएको र ति महिलामा उच्च रक्तचाप, मधुमेह र दम समेत देखिएको निमित्त निर्देशक झाले बताए ।
अहिलेसम्म धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।