कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु

   ८ कार्तिक २०७७, शनिबार ११:१३  

८ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

रुपन्देहीमा तिलोत्तमा नगरपालिका वडा नंं. ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा शनिबार बिहान मृत्यु भएको हो ।

यही कात्तिक ५ गते उनलाई कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन उनलाई अस्पताल भर्ना गरिएको थियो । ती संक्रमित पुरुषको उपचारका क्रममा शनिबार बिहान पौने ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

उनी फोक्सोका दीर्घ रोगीसमेत रहेका डा. गौतमले जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार उनको मृत्युसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या रुपन्देहीमा ५६ र लुम्बिनी प्रदेशमा १४१ पुगेको छ ।

यस्तै, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित ५ महिने शिशुको मृत्यु भएको छ ।

मोरङको सुन्दरहरैंचाकी संक्रमित बालिकाको शुक्रबार राति करिब ७ः५० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले जानकारी दिए । उनलाई शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनमा मस्तिष्कसम्बन्धी समस्या थियो ।