घाँटी रेटी हत्या गरिएको निरञ्जन रामको मुख्य आरोपी पक्राउ
७ कार्तिक, रौतहट । रौतहटमा साउन ३१ गते मृत्यु भएको २० वर्षीय निरञ्न रामको हत्याका प्रमुख आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट जिल्लाको गरुडा नगरपालिका–८, जिंगडिया निवासी निरञ्जनको धारिलो हतियारले घाँटी रेटी हत्याका मुख्य आरोपी सोही ठाउँका राजगीर साह बनियाँलाई प्रहरीले पक्राउ गरेको हो ।
दलित समुदायका २० वर्षीय निरञ्जन रामको मृत्युपछि प्रहरीको चरम यातनाका कारण नै रामको मृत्यु भएको भन्दै लामा समयसम्म आफन्तले विरोध प्रदशैन गरेका थिए ।
उक्त घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये विजय महरा प्रहरी हिरासतमै बिरामी भएपछि, उनलाई उपचारको लागि वीरगञ्ज नेशनल मेडिकल कलेजमा पठाइएको थियो, तर उपचारका क्रममा नै भदौ १० गते राति उनको मृत्यु भएको थियो ।
विजय महराको मृत्युपछि दलित समुदायले प्रहरीविरुद्ध आन्दोलन समेत गर्न थालेका थिए ।
लगत्तै गृह मन्त्रालयद्वारा उपसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले रौतहटका तत्कालीन एसपी, विराज खड्का र गरुडाका प्रहरी प्रमुख एवं डिएसपी ज्ञानकुमार महतोलाई कारबाही गर्न सिफारिस गरेको थियो, भने प्रहरी निरीक्षक नविनकुमार सिंह, सई विरेन्द्र यादव सहित ८ जना निलम्बनमा समेत परेका थिए ।