भारतसँगका नाका बन्द भएका कारण नेपाली बजारमा ब्यवसाय फस्टायो

   ७ कार्तिक २०७७, शुक्रबार १२:३४  

७ कात्तिक, रौतहट । कोरोना माहामारीका कारण भारतसंग जोडिएका नाका बन्द भएको ६ महिनापछि खुलेका नाकाबाट मालबाहक गाडी र नेपालीलाई मात्रै आउन दिइएको छ ।

सुदूरपश्चिमको मुख्य नाकाको रुपमा रहेको कैलालीको त्रिनगर नाकाबाट मालबाहक सामान तथा नेपाली नागरिक मात्रै आउने गरेका छन् । नाका बन्द भएपछि स्थानीय बजारमा भने ब्यवसाय बढेको हो । कोरोना भाइरसका कारण अधिकाशं सेवा प्रभावित भएपनि कैलाली बजारमा चहलपहल घटेको छैन ।

अहिले सुदूरपश्चिमको अस्थाई राजधानी धनगढीमा चहलपहल बढेको छ । चाडबाड लागेसँगै विगतका वर्षमा नाकातिर निकै भीड हुनेगरेको थियो ।

एक किलो चिनी तथा साबुनका लागिसमेत यस क्षेत्रका नागरिकहरु सिमावर्ती बजार पलिया तथा बनगवाँमै पुग्ने गरेका थिए । यस वर्ष कोरोना महामारीकै बिचपनि ब्यवसायी खुशी भएका छन् ।

सामान्य सामानका लागि पनि सिमावर्ती बजार जाने नेपालीहरु अहिले बाध्यताले स्वदेशकै पसलबाट सामान खरिद गरिरहेका हुन् ।
यताको व्यापार बढ्दा सरकारलाई राजस्व बढ्ने र उपभोक्ताले सही सामान पाउने धनगढीस्थित समैजी डिर्पार्टमेन्टल स्टोरका सञ्चालक भवानी सिहं भण्डारीको भनाइ छ ।

दैनिक खाद्यान्न, लत्ता कपडा, तरकारीलगायतका सामानका लागि यतिबेला सिमावर्ती बजारमा नेपालीहरुको भीड हुने गर्दथ्यो । भारतीय बजारमै पुग्ने गरेका उनीहरुलाई कोरोना महामारीले स्थानीय बजारबाटै किनमेल गर्ने वातावरण बनाएको छ ।

यसले स्थानीय क्षेत्रको व्यवसायमा टेवा पुगेको किराना व्यवसायी संघ कैलालीका कोषाध्यक्ष रामचन्द्र भट्टले बताउनु भयो । सामान्य सामानका लागि पनि नेपाली नागरिकले भारतको भर गर्नु भन्दा नेपाली बजारबाटै सामान खरिद गर्न अहिले कोरोनाले सिकाएको छ ।