कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु

   ६ कार्तिक २०७७, बिहीबार १२:०८  

६ कार्तिक, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ । प्रतिष्ठानमा एक जना, रुपन्देहीमा एक जना, अर्घाखाँचीमा एक जना र चितवनको अस्पतालमा दुई जना संक्रमितको मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको इनरुवा–१ का ८३ वर्षीय पुरुषको आज बिहान २ः१० बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए

उच्च रक्तचाप, मधुमेह, प्रोस्टेट, श्वासप्रश्वास लगायतका समस्याबाट पीडित ती पुरुषमा यही कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिन उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो

यस्तै, रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का ८१ वर्षीय पुरुष उपचारका क्रममा मृत्यु भएको छ । यही कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका तिलोत्तमाका पुरुषको राति १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै, अर्घाखाँचीको पधेरीका ३८ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुधबार राति साढे ९ बजे मृत्यु भएको डा. गौतमले बताए ।

असोज २२ गते कोरोना पुष्टि भएपछि सोही दिन उनी अस्पताल भर्ना भएका थिए । योसँगै रुपन्देहीमा मृत्यु भएका कोरोना संक्रमितको संख्या ५३ पुगेको छ भने अर्घाखाँचीमा ५ पुगेको छ ।

त्यसैगरी, चितवनको रत्ननगर नगरपालिका–१३ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ । यही कात्तिक ४ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भई अस्पताल भर्ना भएका रत्ननगरका वृद्धलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई कात्तिक ५ गते एचडीयूमा राखेर उपचार गरिएको थियो ।

यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल मकवानपुरको हेटौंडा–५ बस्ने ३३ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

असोज ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । खोकी र श्वासप्रश्वासको समस्या भएकी ती महिला ३७ हप्ताको गर्भवती थिइन् ।