नेपालमा हालसम्मकै सबैभन्दा धेरै ५७४३ कोरोना संक्रमित थपिए
५ कार्तिक, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा २० हजार १ सय १८ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ७ सय ४३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ४४ हजार ४ सय ७६ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या ४४ हजार ४ सय ७६ रहेको छ, जसमध्ये संस्थागत आइसोलेशनमा १४ हजार ६ सय ७६ जना र होम आइसोलेशनमा २९ हजार ८ सय संक्रमित रहेका डा. गौतमले बताए ।
त्यसैगरी, विगत २४ घण्टामा थप २ हजार ९ सय ९६ जनाले कारोना संक्रमण जितेर डिस्चार्ज भएका छन्, भने आजसम्म नेपालमका कोरोनामुक्त हुनेको कुल संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।
यसैबीच बितेको २४ घण्टामा कोरोना संक्रमणका कारण थप २६ जनाको मृत्यु भएको छ, भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७ सय ९१ पुगेको छ ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौँमा २ हजार ३ सय ९१ जना, ललितपुरमा ५ सय ४३ जना र भक्तपुरमा १ सय ७३ जना गरी थप ३१०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।