राष्ट्रिय प्रतिरक्षा कार्यक्रममा ब्राजिलले सामिल गर्ने चिनियाँ कोरोना खोप
५ कात्तिक, रौतहट । ब्राजिलले चीनमा बनेको कोरोना खोपलाई राष्ट्रिय प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने भएको छ । साओपाउलोका गभर्नर जोआओ डोरिआले ब्राजिलको संघीय सरकारले चीनमा बनेको कोरोना खोप कोरोनाभ्याकको ४ करोड ६० लाख डोज किन्ने निर्णय गरेको जानकारी दिएका छन् ।
उनका अनुसार ब्राजिलमा राष्ट्रिय प्रतिरक्षा कार्यक्रम सन् २०२१ को जनवरीमा सुरु हुनेछ । यदि यो कार्यक्रम लागू भए कोरोना महामारीविरुद्ध राष्ट्रिय प्रतिरक्षा कार्यक्रम सञ्चालन गर्ने ब्राजिल पहिलो मुलुक बन्नेछ ।
कोरोना महामारीका कारण बढी प्रभावित मुलुकमध्येको एक हो ब्राजिल । ब्राजिलमा अहिलेसम्म ५२ लाख ७३ हजारभन्दा बढीमा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै ब्राजिलमा कोरोनाका कारणले एक लाख ५४ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै कोरोना पुष्टि भएकामध्ये ४५ लाख २६ हजारभन्दा बढी निको भएका छन् ।
ब्राजिलले चिनियाँ कम्पनी सिनोभाकले बनाएको कोरोना खोपका अलावा बेलायतको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरिरहेको कोरोना खोप पनि प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ ।
चिनियाँ कोरोना खोप साओपाउलोस्थित रिसर्च सेन्टर बुटान्टान इन्स्टिच्युटले परीक्षण गरिरहेको छ । कोरोनाविरुद्धको चिनियाँ खोपको परीक्षण टर्की र इन्डोनेसियामा पनि भइरहेको छ ।
बीबीसी