बुधबार थप तीन संक्रमितको मृत्यु, चितवनमा थपिए १०४ संक्रमित

   ५ कार्तिक २०७७, बुधबार १०:५१  

५ कार्तिक, रौतहट । बुधबार थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रुपनदेहीमा दुई जना र प्रतिष्ठानमा एक जना गरी थप तीन जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका हुन् ।

रुपन्देहीमा बुटबल उपमहानगरपालिकाका वडा नं. ११ देवीनगरका ४७ वर्षीय पुरुष र वडा नं. १७ मोतिपुरका ८१ वर्षीय पुरुषको उपचारका क्रममा कोरोना अस्पताल बुटवलमा मृत्यु भएको हो ।

यही असोज २४ गते ४७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन अस्पतालमा भर्ना गरिएर उपचारका क्रममा बुधबार बिहान करिब १ः१० बजे मृत्यु भएको र उनलाई उच्च रक्तचापको समस्यासमेत रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

यस्तै असोज २७ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका ८१ वर्षीय पुरुषको आज बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. गौतमले जानकारी दिए ।  दुवैजनाको भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।

यसैबीच, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत गडी–४ सुनसरीकी ५५ वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

मंगलबार प्रतिष्ठानमा उपचारका लागि भर्ना भएकी उनको सोही दिन कोरोना पुष्टि भएको थियो । डा. श्रेष्ठका अनुसार ती महिलामा उच्च रक्तचापको पनि समस्या थियो ।

त्यसैगरी, चितवनमा थप १ सय ४ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।