महामारीमा दशैं, चाडबाडमा पनि आर्थिक कारोबार सुस्त
४ कार्तिक, रौतहट । चाडबाडका बेला भिडभाड हुने रौतहटका मुख्य बजारहरु खासै चहलपहल छैन । कोविड १९ कोरोना माहामारीले चैत यता देशको अर्थतन्त्र र जनजीवन नराम्ररी प्रभावित छ । कतिपयको रोजगारी खोसेको कोरोनाले चाँडबाँड समेत खल्लो बनाएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले पटक पटक लकडाउन गरे पनि अहिले संक्रमणको दर झनै उच्च छ । जिल्ला प्रशासन कार्यालयले पनि कोरोनाकै कारण मन्दीर र शक्तिपीठमा नियमित पूजा बाहेक अन्य दर्शन, मेला लगायतका कामलाई निषेध गरेको छ । गौर लगायत जिल्ला भरी नै दुर्गा भवानीको माटोको मूर्ति बनाई सजाएर विधिपूर्वक पूजाआजा भइरहे पनि प्रशासनको रोकका कारण लाउडस्पीकरहरु पहिले जस्तो बज्न सकेको छैन ।
वर्षभरी घरबाट बाहिर रहेकाहरु पनि दशैंमा घर फर्केर परिवारजनसँग रमाइलो गर्ने र सुखदुख साटने गर्छन तर यस पटक महामारीका कारण बाहिर भएकाहरु पनि घर फर्कने सम्भावना निकै कम छ । विशेष गरी विभिन्न काम र अध्ययनको शिलशिलामा शहरतिर बसेका छोराछोरीसमेत घर फर्कने सोचमा नभएपछि वर्षभरी एक्लै बनेका बुढा बुवा आमाले पनि यसपटकको दसैँमा मिठो मसिनो आफ्ना छोराछोरीसँग बसेर खान नपाउँने भएका छन् । घर परिवार देखी टाढा रहेकाहरु पनि घर फर्किने क्रम पहिले जस्तो छैन ।
दशैंको चौथो दिन भइसक्दा पनि जिल्लाका प्रमुख बजारहरुमा आर्थिक कारोबार बढेको छैन । गौर, शिवनगर, गरुडा तथा चन्द्रनिगाहपुरको बजारहरुमा पनि किनमेल गर्नेको भिडभाड देखिएको छैन । दशैंको बेला विशेष गरि लताकपडा तथा श्रृङ्गार पसलमा उपभोक्ताको चाप पहिलेको जस्तो नभएको पसलेहरुले बताएका छन । लकडाउनले उत्पन्न गरेको आर्थिक संकटका कारण अरु बेला जस्तो यस पटक व्यापार नहुने चिन्ता व्यापारीमा रहेको छ ।