मंगलबार थप दुई कोरोना संक्रमितको मृत्यु
४ कार्तिक, रौतहट । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।
रुपन्देहीमा अस्पतालमा उपचररत संक्रमितको मृत्यु भएको छ, भने दाङमा होम आइसोलेशनमा बसेको एक संक्रमितले ज्यान गुमाएका हुन्।
बुटवल उपमहानगरपालिका वडा नंं. ११ बस्ने ४१ वर्षीया महिलाको कोरोना अस्पताल बुटवलमा उपचारका क्रममा मंगलबार बिहान करिब सवा ५ बजे मृत्यु भएको हो ।
उनलाई सोमबार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था सामान्य नहुदाँ उनको भेन्टिलेटरको सहायतामा आईसीयूमा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले पुष्टि जानकारी दिए ।
मृतक महिला मधुमेहको दीर्घरोगी समेत रहेकी डा. गौतमले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
त्यसैगरी, दाङ देउखुरीको लमही नगरपालिका–५ का एक व्यक्तिको होम आइसोलेसनमै बसेको बेला घरमै मृत्यु भएको छ । लमही बजारमा घर भएका ४३ वर्षीय पुरुषको आज बिहान घरमै मृत्यु भएको हो ।
उनी जन्डिसको बिरामी थिए । काठमाडौंमा जण्डिसको उपचार गराएर एक हप्ता अगाडि उनी लमहीस्थित घर फर्किएका थिए । घर आइसकेपछि कोरोना परीक्षण गर्दा श्रीमान–श्रीमती दुवैमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनीहरु एक हप्तादेखि होम आइसोलेसनमा बस्दै आएका थिए ।
‘उहाँ कलेजो बिग्रिएर कमजोर नै हुनुहुन्थ्यो, आज बिहान देहान्त भएको वडाध्यक्ष बिमबहादुर केसीले जानकारी दिए ।
वडाध्यक्ष केसीले शव व्यवस्थापन कसरी गर्ने भनेर छलफल भइरहेको समेत जानकारी दिए ।