पूर्व सांसद लाललाई कोरोना संक्रमण पुष्टि, गण्डकीमा ५२ थपिए कोरोना संक्रमित
२ कार्तिक, रौतहट । राष्ट्रिय सभाका पूर्व सांसद तथा जनता समाजवादी पार्टी (जसपा)का नेता वृषेशचन्द्र लाललाई कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
यही असोज २३ गते राजविराजबाट फर्केका लाललाई लागातार ज्वरो आइरहेको र ज्वरो कम नभएपछि पीसीआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । श्वास फेर्न हल्का समस्या भएपछि अस्पताल भर्ना भएको नेता लालले जानकारी दिए ।
त्यसैगरी, गण्डकी प्रदेशमा थप ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी स्याङ्जामा ५ जना, तनहुँमा १५ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी चितवन मेडिकल कलेजको ल्याबमा गरिएको परीक्षणमा गण्डकी प्रदेशका ५ जिल्लाका मानिसमा संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै संक्रमित नवलपरासीमा देखिएका छन्। त्यहाँका १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु गैडाकोट, कावासोती, देवचुली र मध्यविन्दुका रहेका छन् ।
त्यसैगरी कास्कीको पोखरा नगरपालिकाका एक जनामा संक्रमण पुष्टि भएको छ । गोरखामा तीन जना, तनहुँमा एक जना र लमजुङमा एकजनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यससँगै गण्डकीमा संक्रमितको संख्या ५ हजार ६ सय ८५ पुगेको छ ।