कार दुर्घटना हुँदा ५ जनाको मृत्यु, तीन जना गम्भिर घाइते
२ कार्तिक, रौतहट । उदयपुरमा कार दुर्घटना हुदाँ पाँच जनाको मृत्यु भएको छ ।
उदयपुरको कटारी नगरपालिका– १४ भदौरेमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ, भने तीनजना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा मृत्यु भएकामध्ये अन्दाजी ३०–३२ वर्षका पुरुष, ३०–३५ वर्षका पुरुष र अर्की ३०–३५ वर्षकी महिलाको पहिचान खुलेको छैन । पहिचान नखुलेका तीनै जनाको घटनास्थलमै ज्यान गएको हो । ट्राफिक प्रहरी उपरीक्षक दासका अनुसार ब्रेक फेल भएर स्कारपियो दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।
त्यस्तै, दुर्घटनामा परेर ओखलढुंगाको मानेभञ्याङ–९ की २८ वर्षीय कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र स्कोरपिओ चालक रुपन्देही मधुवलिया–४ का २८ वर्षीय पवन खड्का गम्भीर घाइते भएका छन् । घाइतेलाई कटारी अस्पताल हुँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाइएको छ ।
भैरहवाबाट ओखलढुंगातर्फ जाँदै गरेको बा २० च ७१७१ नम्बरको स्कारपियो कार शनिबार राति ११ः५५ मा दुर्घटनामा परेको प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्मा दासले जानकारी दिए । गाडी सडकबाट करिब ९०० मिटर तल खसेको छ ।
यस्तै, दुर्घटनामा परी मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । दुर्घटनामा परेर ओखलढुंगा मानेभञ्ज्याङ–९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्णबहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।