बिहीबार कोरोना संक्रमणका कारण थप आठ जनाकोे मृत्यु

   २९ आश्विन २०७७, बिहीबार ११:४०  

२९ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण प्रदेश १ मा मात्रै एकै दिन आठ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टामा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पाँच जना र विराटनगरमा तीन जना गरी थप आठ जनाको मृत्यु भएको हो ।

विराटनगरको विराट नर्सिङ होममा एक महिला र कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ निवासी ४० वर्षीया महिलाको हिजो (बुधबार) साँझ ७ बजेतिर मृत्यु भएको हो । गत मंगलबार उनलाई विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको थियो । उनमा मुटु सम्बन्धी समस्यासमेत रहेको अस्पतालले जानकारी दिए ।

त्यस्तै विराटनगरको कोशी अस्पताल (कोभिड १९)मा पनि दुई जना कोरोना संक्रमितको पुरुषको उपचारकै क्रममा मृत्यु भएको छ ।
विराटनगर महानगरपालिका–४ बस्ने ५० वर्षीय पुरुष र सुनसरीको धरान उपमहानगरपालिका–१५ का ६६ वर्षीय पुरुषको मृत्यु भएको हो ।
विराटनगरका पुरुषलाई पीसीआर परीक्षण गराउँदा असोज २१ गते उनको कोरोना रिपोर्ट पोजेटिभ आएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनको आज बिहान करिब ३ः३० बजे मृत्यु भएको हो । मृतक पुरुषमा मधुमेहको समस्या पनि रहेका डा. बस्नेतले बताए ।

सोमबार कोरोना पुष्टि भए पनि होम आइसोलेसनमा रहेका धरानका वृद्ध पुरुषलाई श्वासप्रश्वासको समस्या बढेपछि उपचारका लागि बुधबार कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार राति ९ बजेतिर मृत्यु भएको छ । मृतकमा मधुमेह, उच्च रक्तचापलगायत समस्या थियो ।

त्यसैगरी धरानमा पनि कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पाँच जनाको मृत्यु भएको छ । प्रष्ठिानका सह प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला एक पुरुष, इटहरी उपमहानगरपालिकाका एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो ।

तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार विहान ७ बजेर १५ मिनेटमा मृत्यु भएको हो । मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका विरामीमा रहेका पुरुषमा १० असोजमा संक्रमण पुष्टि भएको थियो । विरामीलाई ११ असोजमा प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरि उपचार सुरु गरिएको थियो ।

यस्तै, इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया वृद्धको बिहीबार विहान १२ः५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार उच्च रक्तचाप भएकी वृद्धामा २८ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीपी प्रतिष्ठानमै धरान उपमहानगरपालिका–९ का दुई जना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानको प्रयोगशालामा २५ असोजमा संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको बुधबार राति ११ः५५ मा मृत्यु भएको छ । उनी २८ असोजमा अस्पताल भर्ना भएका थिए ।

त्यस्तै, धरान ९ निवासी ४४ वर्षीया महिलाको बुधबार अपरान्ह साढे ३ बजे मृत्यु भएको छ । धरान ९ का महिला र पुरुषमा दीर्घरोगको कुनै पनि समस्या थिएन । महिलालाई २७ असोजमा कोरोना पोजेटिभ देखिएको थियो ।

यसैगरी तेह्रथुम दाङ्पा– १ का ४९ वर्षीय पुरुषको बुधबार बेलुका मृत्यु भएको छ । २६ गते कोरोना पोजेटिभ देखिएका पुरुषमा निमोनियाको समस्या थियो । २५ असोजमा इमरजेन्सीमा भर्ना भएका उनको बुधबार बेलुका सात बजे इमरजेन्सीमै मृत्यु भएको डा.  श्रेष्ठले जानकारी दिए ।

एकै दिन आठजनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण प्रदेश १ मा मृत्यु हुनेको संख्या १२१ पुगेको छ ।