कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

   २८ आश्विन २०७७, बुधबार १३:१२  

२८ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ ।

पोखरामा एक महिला र चितवनमा एक पुरुष गरी थप दुई जनाको मृत्यु भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्याङ्जा भीरकोट २ निवासी ५२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ। यही असोज २६ गते अस्पताल भर्ना भएकी उनमा कोरोनासँगै थाइराइड र उच्च रक्तचापको पनि समस्या रहेका प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिएका छन् ।

उनका अनुसार मृतक महिलालाई आइसीयूमा उपचार भइरहेको थियो ।  योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

त्यसैगरी, चितवन मेडिकल कलेज भरतपुरमा पूर्वी नवलपरासीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मध्यविन्दु १५ का ७५ वर्षीय पुरुषको मंगलबार राति मत्यु भएको हो । कोभिड आईसीयूमा उपचाररत ती पुरुषको राति करिब १०ः२० बजेको मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।

यही असोज १८ गते उनलाई श्वासप्रश्वासमा समस्या आएपछि, उनलाई असोज २० गते अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनका स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म चतवनमा कोरोना संक्रमणबाट जिल्लाका ३८ जना र जिल्ला बाहिरका २९ जनाको मृत्यु भएको छ ।