सोमबार देशभर ४०४७ कोरोना संक्रमित थपिए
२६ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १४ हजार ५ सय ३० जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४७ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, हाल नेपालमा सक्रिय कोरोना संक्रमितको कुल संख्या ३३ हजार ८ सय ८० रहेको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १३ हजार ९ सय २३ जना र होम आइसोलेशनमा १९ हजार ९ सय ५९ जना रहेका छन् ।
त्यसैगरी, विगत २४ घण्टामा थप १ हजार ४ सय ७३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने हाल देशभर कोरोनामुक्त हुनेको कुल संख्या ७७ हजार २ सय ७७ पुगेको गौतमले जानकारी दिए ।
यसैबीच, कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको छ, भने यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ४५ पुगिसकेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा मात्रै २ हजार २ सय ८३ जनामा संक्रमण पुष्टि भएको छ ।
जसमा काठमाडौँमा १ हजार ८ सय ८८, भक्तपुरमा १ सय १८ र ललितपुरमा २ सय ७७ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।