सोमबार कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु
२६ असोज, रौतहट । बितेको २४ घण्टामा कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बिराटनगरमा एक जना, बीपी कोइराला प्रतिष्ठानमा एक जना र रुपन्देहीमा एक जनागरी थप तीन जनाको मृत्यु भएको हो ।
नोबेल मेडिकल कलेज विराटनगरमा सुनसरीको बराहक्षेत्रका ३७ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको बिहान ६ः५० बजेतिर मृत्यु भएको विराटनगरका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
ती पुरुषको शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गराउँदा कोरोना रिपोर्ट पोजेटिभ आएको दाहालले बताए । आइतबार साँझ ६ः२५ बजे नोबेल अस्पताल ल्याइएका उनलाई राति १२ बजे कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
दुवै मृगौला फेला भएका पुरुषको उपचारका क्रममा मृत्यु भएको दाहालले बताए । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १०४ पुगेको छ ।
त्यस्तै, सुनसरीको धरान–२ का ८९ वर्षीय पुरुषको गएराति करिब ११ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उनमा उच्च रक्तचापको पनि समस्या थियो । असोज २३ गते प्रतिष्ठानमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच, रुपन्देहीका देवदह नगरपालिका–१० का ७९ वर्षीय पुरुषको कोरोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
उनमा यही असोज १९ गते कोरोना पुष्टि भएपछि, उनी २० गते अस्पताल भर्ना भएका थिए । भेन्टिलेटरको सहायतामा उपचार भइरहेको उनको आज बिहान ७ः३० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
डा. गौतमका अनुसार संक्रमित वृद्धको श्वास नलीमा समस्या थियो । उनी दम र उच्च रक्तचापको दीर्घरोगी पनि थिए ।
योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४० पुगेको छ ।