यातायात कार्यालय वीरगञ्जको एक जनामा कोरोना संक्रमण पुष्टि, कार्यालयका सम्पूर्ण सेवा बन्द

   २४ आश्विन २०७७, शनिबार १२:३२  

२४ असोज, रौतहट । यातायात व्यवस्था कार्यालय वीरगञ्जका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयले सम्पूर्ण सेवाहरु बन्द गरेको छ ।

यातायात व्यवस्था कार्यालय वीरगञ्ज अन्तर्गत सवारी चालक अनुमति पत्र शाखाले एउटा सूचना जारी गर्दै आइतबारदेखि कार्यालयबाट उपलब्ध हुँदै आएका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द भएको जनाएको हो ।

कार्यालयले एक जना कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि अर्को सूचना नआउन्जेलसम्म कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।

कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको कारण उनक सम्पर्कमा आएका सम्पूर्ण व्यक्तिहरुलाई क्वारेन्टिन गर्नुपर्ने भएको हुनाले सेवा बन्द गरिएको सूचनामा उल्लेख छ ।

‘यातायात व्यवस्था कार्यालय वीरगञ्ज, सवारी चालक अनुमतिपत्र शाखाले जारी गरेको सार्वजनिक सूचनामा यस कार्यालयमा कार्यरत एक जना कर्मचारीको कोरोना संक्रमण पुष्टि भएकोले निजको सम्पर्कमा रहेका अन्य कर्मचारीहरुलाई सेल्फ आईसुलेशनमा बस्नुपर्ने भएकोले सेवाग्राहीको सुरक्षाको मध्यनजर गरि मिति २०७७ असोज २५ गते आइतबारदेखि अर्को सूचना नभएसम्मको लागि यस कार्यालयबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु बन्द गरिने व्यवहोरा सम्बन्धित सबैको जानकारीको लागि सूचित गरिन्छ,

यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधाप्रति कार्यालय क्षमाप्रार्थी छ भनेर उल्लेख गरिएको छ’ कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।