सिरहामा कन्टेनर दुर्घटना हुदाँ दुई जनाको मृत्यु
२३ असोज, रौतहट । सिरहाको मिर्चैया–कटारी–घुर्मी–ओखलढुंगा जोड्ने सिद्धिचरण लोकमार्गमा भएको कन्टेटर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । लोकमार्गअन्तर्गत कटारी नगरपालिका–८ सिरिसेको सानो दमारमा ना५ख ९४२४ नम्बरको कन्टेनर दुर्घटनामा परी सडकबाट करिब ५ सय मिटर तल खसेको छ ।
इलाका प्रहरी कार्यालय कटारीका अनुसार बुधबार साँझ ओखलढुंगाबाट कटारीतर्फ आउँदै गरेको कन्टेनर असन्तुलित भई दुर्घटनामा पर्दा त्यसमा सवार मीन राना मगर र राकेशकुमार यादवको मृत्यु भएको छ । मृतकमध्ये मगर र यादवको पहिचान उनीहरूसँगै भेटिएको परिचयपत्रका आधारमा भएको हा । सडकदेखि धेरै तल खसेको हुनाले उनीहरूको शव ढुंगाले थिचिएको अवस्थामा रहेको र पानी परिरहेकाले निकाल्न समस्या भइरहेको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी हेमन्त भण्डारीले बताए ।
दुर्घटनामा घाइते योगेन्द्र दाहाल र विजय भुजेलको उद्धार गरी उपचारार्थ कटारी अस्पतालमा ल्याइए पनि त्यहाँ सम्भव नभएपछि विराटनगर रेफर गरिएको भण्डारीले बताए । उनीहरू दुवैको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ । घटनाबारे सत्यतथ्य बुझ्न इलाका प्रहरीको टोली घटनास्थलमै तैनाथ गरिएको र पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।