नेपालका ७ हजार ५ सय स्थानमा वर्ल्ड लिंकको सहकार्यमा फेसबुकले सुरु गर्यो एक्सप्रेस वाइफाई सेवा

   २३ आश्विन २०७७, शुक्रबार ११:०९  

२३ असोज, रौतहट । वर्ल्ड लिंकको सहकार्यमा फेसबुकले नेपालमा एक्सप्रेस वाइफाई सेवा सुरु गरेको छ । नेपालका ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाइफाई सेवा सुरु गरिएको वर्ल्ड लिंकले जानकारी दिएको छ ।

वर्ल्ड लिंकका अनुसार फेसबुकले उपलब्ध गराउँदै आएको एक्स्प्रेस वाइफाई नेपालका सार्वजनिक स्थानहरुमा उपलब्ध हुनेछ । फेसबुकले एक्स्प्रेस वाइफाईका लागि विभिन्न देशमा रहेका स्थानीय इन्टरनेट सेवा प्रदायकसँग सहकार्य गर्दै आएको छ ।

त्यसमध्ये दक्षिण एसियाका भारत र नेपालमा मात्र यस्तो सेवा यो सेवा उपलब्ध हुनेछ । दुई कम्पनीबीचको सहकार्यबाट नेपालमा सस्तो, भरपर्दो र उच्चगतिको सार्वजनिक वाइफाई सेवा प्रदान गरिने बिहीबार आयोजित प्रेस कन्फ्रेन्समा जानकारी दिइएको हो । यसका लागि फेसबुकले वर्ल्ड लिंकलाई आवश्यक पूर्वाधार तथा सामग्री समेत उपलब्ध गराउनेछ ।

वर्ल्ड लिंक कम्युनिकेसन्सका सीइओ केशव नेपालले आफूहरुले नेपालमा फ्री वाइफाई सेवा दिन थालेको दुई–तीन वर्ष भइसकेको बताउँदै यस सहकार्यबाट त्यस कार्यमा थप सहयोग पुग्ने बताए ।

त्यस्तै, वर्ल्ड लिंकका वाइफाई प्रोजेक्ट म्यानेजर पुनित मानन्धरले हाल देशभर १० हजार साइटमा पब्लिक वाइफाई सेवा उपलब्ध गराइएको जानकारी दिए । जसलाई पनि जहाँ र जुनसुकै समयमा पनि कनेक्ट गराउने भिजनका साथ यो परियोजना सुरु गरिएको उनको भनाइ छ ।