कोरोनाका कारण थप चार जनाको मृत्यु
२३ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।
झापा जिल्लाका दमक नगरपालिका ९ बस्ने ५२ वर्षीय एक पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रममा मृत्यु भएको हो ।
यही असोज १८ गते कोरोना पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका संक्रमित पुरुषको दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । यससँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन र जिल्लामा १२ पुगेको छ।
दमकमा एक महिला र दुई सङ्क्रमित पुरुषको मृत्यु भएको छ । राजविराज– सप्तरीमा कोरोना सङ्क्रमणबाट बिहीवार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य प्रमुख यादवका अनुसार चार–पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए । सोही क्रममा एक दिन अगाडि स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण भटिएपछि होमआइसोलेसन रहेका उनको थप उपचारका लागि लगिने क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए ।
होम आइसोलेसनमा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृतक निमोनिया रोगले ग्रसित रहेको जनाइएको छ। यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए।
यस्तै, हालसम्म सप्तरीमा एक हजार ३ सय ५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। सङ्क्रमितमध्ये एक हजार ९६ निको भएर घर फर्किएका छन् ।