पर्साबाट १३१ किलो गाँजासहित वडा सदस्यका छोरा पक्राउ
द नेपाल मिडिया
२२ आश्विन २०७७, बिहीबार १५:२२
२२ असोज, रौतहट । अवैध लागूऔषध १३१ किलो गाँजासहित पर्साबाट एक जना पक्राउ परेका छन् । पर्साको पटेर्वासुगौली ५ देवरियाबाट ४० वर्षीय राजु ओझैया पक्राउ परेका हुन् ।
बिहीबार बिहान ओझैयाका घरमा छापामार्दा लुकाएर राखिएको अवस्थामा १३१ केजी गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् । पक्राउ परेका ओझैया वडा नम्बर ५ का वडा सदस्य दुखी ओझैया थारुका छोरा रहेका प्रहरीले बताए ।
वडा सदस्य दुखीभने छोरासँग छुट्टिएर बसेको र कारोबारमा संलग्न नदेखिएको प्रहरीको दाबी छ । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।