पर्साको ग्रामिण क्षेत्रबाट दुई लावारिस शव बरामद

   २२ आश्विन २०७७, बिहीबार १२:४२  

२२ असोज, रौतहट । पर्साको ग्रामिण क्षेत्रबाट हात र खुट्टा बाँधिएको अवस्थामा दुई लावारिस शव बरामद भएको छ ।

बितेको दुई दिनमा नै पर्साको कालिकामाई गाउँपालिका र जगरनाथपुर गाउँपालिकाबाट शंकास्पद अवस्थामा एक महिला र एक पुरुषको शव फेला परेकोे हो ।

पर्साको कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारी र वडा नम्बर ४ प्रशुरामपुरको बीचस्थित गंगोल नदीमा बुधबार बिहान करिब ११ बजे अन्दाजी ३४ वर्षीया एक महिलाको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएका छन्, । तर, हात, खुट्टा र मुख बान्धेका अवस्थामा फेला परेको महिलाको पहिचान खुल्न सकेको छैन् ।

यस्तै, मंगलबार प्रहरीले पर्साको जगरनाथपुर गाउँपालिकाको जानकी टोला वडा नम्बर २ मा पनि एक पुरुषको शव बरामद भएको थियो । बोरामा कसेर राखिएको अवस्थामा प्रहरीले फेला परेको शवको पहिचान खुल्न सकेको छैन् ।

नहरमा बगेर आएको शवका बारेमा नजिकैको गाउँहरुमा सोधपुछ तथा हुलिया पहिचान गराईएपनि कसैले चिन्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिए ।

पर्साका प्रहरी नायव उपरीक्षक एवम पर्सा प्रहरीका प्रवक्ता मनोजित कुँवरले फेला परेका दुवै शवलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाईएको जानकारी दिए ।

उनले घट्ना सम्बन्धमा थप अनुसन्धान भईरहेको बताए ।