नेपालमा थपिए ३४३९ कोरोना संक्रमित, २५ हजार नाघ्यो
२१ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ३९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ९४ हजार २ सय ५३ रहेको छ ।
नेपालमा संक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आइसोलेशनमा १० हजार ५ सय ९६ जना र होम आइसोलेशनमा १४ हजार ४ सय ११ जना रहेका छन् ।
त्यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिसगरेको थियो । असोज ७ गते मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।
२५ हजार बढी संक्रमित भए अस्पतालको पूर्वाधारमा व्यवस्थापन गर्न गाह्रो हुने मन्त्रालयको भनाइ छ । सरकारले यो सिफारिसलाई कार्यान्वयन गर्छ या के गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन ।
यस्तै, विगत २४ घण्टामा थप १ हजार १ सय २६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म नेपालमा कोरोनामुक्त हुनेहरुको कुल संख्या ६८ हजार ६ सय ६८ पुगेको छ ।
त्यसैगरी कोरोनाका कारण थप १५ जनाको मृत्यु भएको छ, भने हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या ५ सय ७८ पुगेको छ ।
यसैबीच, काठमाडौं उपत्यकामा मात्रै १६८४जना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौ जिल्लामा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना कोरोना संक्रमित थपिएको जानकारी दिए ।