मंगलबार थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि
२० असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ५१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । यससंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।
हाल नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या २२ हजार ७ सय ९ रहेको छ । जसमध्य संस्थागत आइसोलेशनमा ९ हजार १ सय १८ जना र होम आइसोलेशनमा १३ हजार ५ सय ९१ जना रहेका छन् ।
त्यसैगरी, बितेको २४ घण्टामा थप २ हजार ३ सय ४० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने योसंगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या ६७ हजार ५ सय ४२ पुगेको मन्त्रालयले जनाएका छन् ।
यसैबीच, देशभरमा कोरोना संक्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ, भने यससंगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५ सय ६३ पुगेको छ ।
मन्त्रालयका अनुसार संक्रमितमध्ये काठमाडौं उपत्यकाका मात्रै १ हजार १७ जना रहेका छन् ।