एकैदिन चितवन राष्ट्रिय निकुञ्जमा मरे २ गैँडा
२० असोज, रौतहट । चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मृतावस्थामा फेला परेका छन् । नारायणी नदीले बगाउँदा सोमबार एउटा गैँडा भारतको वाल्मीकि टाईगर रिजर्भ क्षेत्रमा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।
नारायणी हुँदै गण्डक ब्यारेजबाट तलपट्टी बगेर गएको करिब आधा घण्टापछि मृत्यु भएको भारतको वाल्मीकि टाईगर रिजर्भबाट सूचना प्राप्त भएको निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए ।
भारतको प्रोटोकल अनुसार मृत गैंडाको ‘पोष्टमार्टम’ गरी जलाउने काम भारतको वाल्मीकि टाइगर रिजर्भबाट भएकोे सूचना अधिकारी रामले बताए ।
त्यसैगरी, निकुञ्जको सौराहा सेक्टरअन्तर्गत वनकट्टा वनगछियाको १ नम्बर मचान पूर्वपट्टी बाटोको ढिकमा उँधोमुन्टो भई अर्को अन्दाजी १२ वर्षको भाले गैँडा मृतावस्थामा फेला परेको छ । मृत गैँडाको प्रकृति हेर्दा गैंडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ ।