नेपालमा थपिए २४४० कोरोना संक्रमित, काठमाडौं उपत्यकामा मात्रै १ हजार ५३१ संक्रमित
१९ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १३ हजार ७ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ४ सय ४० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।
यस्तै, हालसम्म नेपालमा संक्रिय कोरोना संक्रमितको कुल संख्या २३ हजार ५ सय ७ रहेको छ, भने जसमध्ये संस्थागत आइसोलेशनमा ११ हजार १ सय ९१ र होम आइसोलेशनमा १२ हजार ३ सय १६ रहेको छ ।
त्यसैगरी विगत २४ घण्टामा १ हजार १ सय ३३ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने यससंगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या ६५ हजार २ सय २ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैबीच नेपालमा कोरोना संक्रमणका कारण थप १९ जनाको मृत्यु भएको छ । हालसम्म देशभरमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको कुल संख्या ५ सय ५४ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्याकामा मात्रै थप १ हजार ५ सय ३१ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
मनत्रालयका अनुसार काठमाडौँमा १ हजार १ सय ७८, भक्तपुरमा १ सय ३ र ललितपुरमा २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा हालसम्म १० लाख ८८ हजार २ सय २९ जनाको पीसीआर परीक्षण भइसकेको छ ।