धरानमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु

   १९ आश्विन २०७७, सोमबार १०:३८  

१९ असोज, रौतहट । धरानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीको धरान १५ बस्ने एक ५५ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार ६ः४५ मा निधन भएको हो ।

असोज १६ गते उनमा कोरोना संक्रमण पुष्टि भएपछि, सोही दिन उनलाई कोभिड अस्पतालमा भर्ना गरिएको थियो । मृतक कोरोना संक्रमित पुरुषमा मिर्गौलासम्बन्धी समस्यासमेत रहेको अस्पतालका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

योसंगैै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको श्रेष्ठले जानकारी दिए ।

हालसम्म सो अस्पतालमा ८ सय २३ जना भर्ना भएकामा ७ सय ४६ जनाले कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् ।