नेपालमा पछिल्लो २४ घण्टामा थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि
१८ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १२ हजार ७ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय ५३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै हालसम्म देशभर कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको गौतमले बताए ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा २२ हजार २ सय १९ संक्रिय कोरोना संक्रमित रहेका छन्, जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ र होम आइसोलेशनमा ११ हजार ८ सय ९३ जना रहेका छन् ।
यस्तै, बितेको २४ घण्टामा थप १ हजार ३ सय २९ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, यससँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको कुल संख्या ६४ हजार ६९ पुगेको छ ।
यसैबीच कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ, भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ५ सय ३५ पुगेको छ ।
त्यसैगरी, काठमाडौँ उपत्याकामा १ हजार ५ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मनत्रालयका अनुसार काठमाडौँका १ हजार ३ सय ७३ जना, ललितपुरका १ सय ८७ जना र भक्तपुरका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।