बालुवाटारमा पस्यो कोरोना

   १८ आश्विन २०७७, आईतवार ११:५३  

 

 

१८ असोज, रौतटह । सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका स्रोतले दिएका जानकारी अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरु, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर्मचारी, चालकसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि प्रधानमनत्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसअघि सामाजिक सञ्जालमार्फत विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र राजन काफ्लेले आफू कोरोना संक्रमित भएको र सम्पर्कमा आएकालाई सचेत रहन आह्वान गरेका थिए ।

प्रधानमन्त्री ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटारमा कार्यरत ७६ जनामा एकैपटक संक्रमण भएको रिपोर्ट आएपछि उनीहरुको सम्पर्कमा रहेका धेरै कन्ट्याक्ट ट्रेसिङ गरिने भएको छ ।

त्यसैगरी, आइतबार बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अनिश्चित भएको छ ।