कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
१८ असोज, रौतहट । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ । बाँकेमा एक सुत्केरी महिला र भरतपुरमा एक पुरुष गरी थप दुई जनाको मृत्यु भएको हो ।
बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा कञ्चनपुरको महेनद्रनगर १ का २९ वर्षीया कोरोना संक्रमित सुत्केरी महिलाको आइतबार बिहान साढे ४ बजे मृत्यु भएको छ । संक्रमित महिलाले कैलालीको धनगढीस्थित सेती अस्पतालमा अपरेसन नगरी एक छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् ।
उनी गर्भवती भएदेखि नै रक्तश्राव हुँदै आएको र सुत्केरी भएपछि पनि उच्च रक्तश्राव भएको थियो । त्यसपछि उनको पाठेघरको अपरेसनका साथै ८ पोका होल रगत र ४ पोका प्लेटलेट रगत दिइएको थियो ।
साथै कोरोना संक्रमणको आशंकामा ती महिलाको स्वाब परीक्षण गर्दा असोज १४ गते रिपोर्ट पोजेटिभ आएको थियो । उनमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोहलपुरस्थित नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका लागि रिफर गरिएको थियो ।
असोज १५ गते अपराह्न ४ बजे कोहलपुरमा भर्ना हुँदा उनी बेहोस अवस्थामा रहेको र रोगको प्रकृतिअनुसारका सबै उपचार गर्दागर्दै आज बिहान मृत्यु भएको अस्पतालले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
यससँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
त्यसैगरी, भरतपुर अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कालिका नगरपालिका ७ जुटपानीका ६२ वर्षीय पुरुषको आइतबार बिहान ६ः३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
असोज १६ गते कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएका उनमा खोकी र श्वासप्रश्वासको समस्या समेत रहेको अस्पतालले जनाएको छ ।