कोरोना संक्रमणबाट थप दुई महिलाको मृत्यु
१७ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । धरानमा एक जना र बिराटनगरमा एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।
इनरुवा–४ सुनसरीकी २८ वर्षीय कोरोना संक्रमित महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । डा. श्रेष्ठका अनुसार ती महिलामा अन्य दीर्घरोग थिएन ।
असोज ८ गते प्रतिष्ठानमा पीसीआुर परीक्षण गर्दा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि, सोही दिन उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसैगरी, शनिबार बिहान बिराटनगरकी ६८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
कोशी अस्पताल (कोभिड १९) उपचार केन्द्र बिराटनगरमा बिहान करिब २ बजे बिराटनगर महानगरपालिका ३ घर भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
उनलाई कोरोना संक्रमण पुष्टि भएसंगै असोज ११ गते आइसोलेशनमा भर्ना गरिएको थियो । ती महिलामा श्वासप्रश्वासको समस्या पनि रहेको बस्नेतले बताए ।