भन्सारको लापरवाही, करोडौं राजश्व रौतहटमा पानीमा कुहिदै
१५ असोज, रौतहट । विभिन्न मुद्दामा प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको सयौं सवारी साधन समयमै लिलाम हुन नसक्दा राज्यको करोडौं राजश्व उठन सकेको छैन ।
गौर भन्सार कार्यालयको परिसर, नेपाल प्रहरीको भन्सार सुरक्षा चौकी र सशस्त्र प्रहरीको गौर बिओपी चार सय भन्दा बढी सवारी साधन विगत चार वर्ष देखि थन्कीएका छन । पक्राउ परेको र मुद्दा चलेको वर्षौ बितिसक्दा पनि सवारी साधनहरु लिलाम हुन सकेको छैन । चार पाङग्रे सवारी साधन र मोटरसाइकलहरु खिया लागेर कामै नलाग्ने अवश्थामा हुदा समेत भन्सार कार्यालयले लिलाम प्रक्रिया सम्पन्न गर्न सकेको छैन ।
सुरक्षा निकायले नियन्त्रणमा लिएर भन्सार कार्यालयलाई बुझाएका ती सवारी साधनहरु समयमै दुरुस्त अवश्थामा लिलाम हुन सकेको भए करोडौं रुपैंया राजश्व आउने थियो तर पटक पटकको बाढी र पानीले भिजेका ती सवारी साधनहरु अधिकांश कवाडीमा लिलाम हुने निश्चीत रहेको छ । भन्सार कार्यालयको लापरवाहीका कारण सरकारको करोडौं राजश्व पानीमा कुहिएको छ । ५० भन्दा बढी चार पाङग्रे सवारी साधन र तिन सय भन्दा बढी मोटरसाइकल मध्ये कुनै पनि सवारी साधन काम लाग्ने अवश्थामा छैनन ।
पक्राउ परेका चार पाङग्रेमा मार्शल, बोलेरो, स्कारपियो, ट्रक र ट्रयाक्टर छन भने दुई पाङग्रेमा पल्सर, डिस्कभर, हिरो होन्डा लगायतका अन्य सवारी साधन छन । यी गाडीहरुको बिचमा थुप्रै यस्ता गाडीहरु पनि छन जसमा सिट, सिसा, ब्याट्रि, तथा महत्वपूर्ण इलेक्ट्रोनिक्स पार्टहरु गायब छन ।
मुद्दा चलेका र बरामद भएका गाडीहरु समयमै गाडीहरु लिलाम हुन नसक्नुमा सो को कागजी प्रक्रियानै धेरै समय लाग्ने भएको भन्सार अधिकृत आशुतोष राईले बताए । मुल्याकंन लगायतका कामहरुमा धेरै समय लागेकोले गाडीहरु लिलाम हुन नसकेको भए पनि अब केही महिना भित्रनै कानूनी प्रक्रिया पु¥याएर सबै गाडीहरु लिलाम गर्ने अधिकृत राईले बताए ।