प्रहरीको हिरासतमा रहेकी महिलाको मृत्यु
१५ असोज, रौतहट । रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयको हिरासतमा एक महिलाको मृत्यु भएको छ ।
अनैतिक सम्बन्धको आरोपमा पक्राउ परि हिरासतमा रहेकी महिला बिहिबार बिहान मृत अवस्थामा फेला परेकी हुन । गुजरा नगरपालीका २ कटानी बजारकी राधिका राउतको गरुडा स्तिथ प्रहरीको महिला सेल हिरासतमा मृत्यु भएको हो । महिला सेलका सुरक्षाकर्मिले आज बिहान राउतलाई मृत अवस्थामा फेला पारेको थियो ।
कटानी बजारका एक युवक सँग अनैतिक सम्बन्ध राखेका बेला उनका श्रीमान सुमन राउतले बुधबार साँझ फेला पारी वडाअध्यक्षको रोहवरमा राधिकालाई प्रहरीको जिम्मा लगाएका थिए । प्रहरीले दुबैलाई निन्यत्रणमा लिएर स्वास्थ्य जांच गराएको थियो । राधिकाले आफु छारे रोगको रोगी भएको र लामो समय देखी औषधि सेवन गरिरहेको प्रहरीलाई बताएकी थिइन ।
हिरासतमा रहेकी बेला राती उनलाई दुई पटक छारे रोगले च्यापेको थियो । राधिकाका श्रीमानले पनि लामो समय देखी छारे रोगको उपचार गराईरहेको प्रहरी समक्ष बताएका छन् । हिरासतमा रहेकी महिलाको मृत्युको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताए ।
यस भन्दा अघि कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका विजय रामको पनि गरुडाको हिरासतमै मृत्यु भएको थियो ।