कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु

   १४ आश्विन २०७७, बुधबार १५:१०  

१४ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । सुनसरीका दुई जना, रुपन्देही र कपिलवस्तुमा गरी थप चार जनाको मृत्यु भएको हो ।

सुनसरीको इटहरीबाट उपचारका लागि ल्याइएका वृद्धको विराटनगरस्थित कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा बुधबार मृत्यु भएको हो । उनलाई बुधबार नै अस्पतालमा भर्ना गरिएको थियो । उपचार थालिएको डेढ घण्टा पुग्न नपाउँदै बुधबार १२ः३५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

कोरोना पुष्टि भएसँगै श्वासप्रश्वासमा समस्या बढेपछि वृद्धलाई उपचारका लागि बिहान ११ बजेतिर कोभिड अस्पताल ल्याइएको उपचार केन्द्रका प्रमुख एवं बरिष्ठ फिजिसिन डा. दीपक सिग्देलले बताए ।

यस्तै, सुनसरीको हरिनगर–२ का ५० वर्षीय पुरुषको नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा श्वासप्रश्वासमा समस्या भएपछि, असोज ९ गते अस्पतालमा भर्ना गरिएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

त्यसैगरी, रुपन्देहीको देवदह नगरपालिका ११ का ५५ वर्षीय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा बुधबार बिहान १० बजे मृत्यु भएको छ । असोज ११ गते स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि उनी लुम्बिनी प्रादेशिक अस्पताल आएका थिए ।

त्यही पीसीआर परीक्षण गराउदा उनमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनलाई कोरोना अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो । मृतकमा मिर्गाैला र रगतमा समेत खराबी देखा परेको अस्पतालले जनाएको छ ।

त्यस्तै, कपिलवस्तुको बुद्धभूमि नगरपालिका १ की ५० वर्षीय महिलाको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान ५ बजे मृत्यु भएको कलेजका जनसम्पर्क अधिकृत सुशिल गुरुङले जानकारी दिए ।

स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ५ गते भैरहवा मेडिकल कलेजमा भर्ना भएकी थिइन् । असोज ५ गते नै गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया र मुटुका दीर्घरोगी समेत थिइन् ।