आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

   १३ आश्विन २०७७, मंगलवार १४:०१  

१३ असोज, रौतहट । धादिङमा आफ्नै छोरीलाई बलात्कार गर्ने आरोपमा बाबु परेका छन् ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुले आफ्नै चौध वर्षीय छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

पीडितका आमा र भाइ घर नभएको बेलामा आफ्नै छोरीलाई असोज ८ गते पछिल्लो पटक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।

घटना पटक–पटक भएको र आफ्नो आमाले घटना थाहा पाउँदासमेत आफूले न्याय नपाएपछि घर छाडेर भागेको बालिकाले बताएकी छिन् । आरोपित बाबुले आफूलाई पाँच वर्षको उमेरदेखि नै बलात्कार गर्दै आएकाले छिमेकीको घरमा काम गर्ने एक जनासँग भागेर काठमाडौँ जान लाग्दा पीडित बालिकाको उद्वार गरिएको थियो ।

प्रहरीको सहयोगमा जिल्लामा सञ्चालित सुरक्षित आवास गृहमा राखिएकी बालिकाको स्वास्थ्यपरीक्षण गरिएको छ ।