कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु

   १३ आश्विन २०७७, मंगलवार १०:४१  

१३ असोज, रौतहट । कोरोना भाइरस (कोभिड १९)का संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजका दुई जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना गरी थप तीन जनाको मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका वडा नंं. १० का ५३ वर्षीय पुरुष र नेपालगञ्जका ४१ वर्षीय पुरुषको मृत्यु भएको हो । नेपालगन्जका मृतक नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी हुन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले एकजना संक्रमितको उपचारका क्रममा गएराति र एक जनाको बिहान ४ बजे मृत्यु भएको छ । दुवैजनालाई प्लाज्मा थेरापी र रेम्डिसिभिरबाट उपचार भइरहेको थियो । दुवैजना भेन्टिलेटरमा थिए ।

त्यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मोरङको सुनबर्सी–७ का ६८ वर्षीय पुरुषको आज बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।
ती पुरुष नोबेल मेडिकल कलेज विराटनगरबाट रिफर भएका थिए ।

ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी नोबेल मेडिकल कलेजमा भर्ना भएका थिए । कोरोना संक्रमणको शंका लागेर परीक्षण गर्दा उनमा असोज ५ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

उनको स्वास्थ्य जटिल बन्दै गएपछि आईसीयूमा राखिएको थियो । अवस्था नसुध्रिएपछि नोबेल मेडिकल कलेजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरेको थियो ।

प्रतिष्ठानमा उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दै आएको थियो । तर उपचारकै क्रममा आज बिहान ३ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटाका अनुसार ६८ वर्षीय ती पुरुषमा पहिलेदेखि उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या थियो । उनले डायलायसिससमेत गराउँदै आएका थिए ।