गरुडा श्रीराम सुगर मिल्स अगाडि सोमबार पनि प्रदर्शन

   १२ आश्विन २०७७, सोमबार १४:२७  

१२ असोज, रौतहट । रौतहट जिल्लाको गरुडा स्थित श्रीराम सुगर मिल्स लिमिटेडलाई एकतर्फी रुपमा सुचना जारी गरी उद्योगपतिले बन्द गरेकाका कारण उखु किसानहरुले श्रीराम सुगर मिल्स अगाडि असोज १० गते शनिबार देखि चक्काजा गर्दाै आज सोमबार पनि प्रदर्शन गरेका छन् ।

उद्योग बन्द भएपछि उखु किसानका साथै सयौ मजदुर र आश्रित परिवार विच्चलीत भएको भन्दै उखु उत्पादक संघले गरुडामा आज पनि चक्काजाम गरेका छन । उद्योगले किसान र मजदुरलाई दिनुपर्ने भुक्तानी समेत नदिएर आफ्नो दायित्वबाट पछाडी हटे पछि किसानहरुले आन्दोलनमा उत्रिएका हुन ।

उखु किसानहरुले उद्योगबाट पाउनु पर्ने ४१ करोड बाँकी रहेको, मजदुरहरुले पाउनुपर्ने उपदान, क्षतीपूर्ती तथा सञ्चयकोषको रकम समेत भुक्तानी नभएको कारण नेपाल सरकार र सम्बन्धीत निकायलाई ध्यानकर्षण गराउन आन्दोलन गर्नु परेको कृषकहरुले बताएका छन ।

उखु किसान, श्रमिक तथा नेपाल सरकारको समन्वयमा, बन्द भएको सो उद्योग पुनः संञ्चालन गराउनु पर्ने किसानहरुले माग गरेकोे छ ।