व्यवसायी चन्द्र ढकाललाई कोरोना पुष्टि, मोरङमा थपिए १३० कोरोना संक्रमित

   १२ आश्विन २०७७, सोमबार ११:३०  

१२ असोज, रौतहट । आइतबार गरिएको पीसीआर परीक्षणमा व्यवासायी चन्द्र ढकाललाई कोरोना भाइरस (कोभिड १९) का संक्रमण पुष्टि भएको छ ।

‘जनस्वास्थ्यका मापदण्डहरु पालनाका साथ सतर्कता र सजगता अपनाइरहेको भए पनि हिजो (आइतबार) गरेको स्वास्थ्य जाँचका क्रममा आज बिहान मेरो कोरोना रिपोर्ट पोजेटिभ आएको,’ ढकालले एक सूचनामा लेखेका छन् ।

तर आफूलाई स्वास्थ्यमा कुनै समस्या नरहेको उनले जानकारी दिएका छन् । उनले सामान्य अवस्थामै घरमै आइसोलेसनमा बसेको बताए । केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित रहन र आवश्यक स्वास्थ्य सजगता अपनाउन ढकालले आग्रह गरेका छन् ।

त्यस्तै, मोरङका विभ्न्नि स्थानमा गरी थप १ सय ३० जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल र प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको स्वाब परीक्षणमा ५१ महिला र ७९ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । यो संख्या मोरङमा एकैदिन संक्रमित हुनेको हालसम्मकै धेरै संख्या रहेको छ ।

समुदायस्तरमा संक्रमण देखिएको विराटनगरमा एकैदिन १३० जना थपिएपछि मोरङमा संक्रमितको संख्या २ हजार १ सय ८६ पुगेको छ ।
विराटनगरमा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भइसकेको छ ।

प्रदेश १ मा यसअघि एकैदिन सय ८१ कोरोना संक्रमित थपिएका थिए । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६ हजार ४ सय ३६ पुगेको छ ।