कोरोना सङ्क्रमणबाट झापामा थप एक पुरुषकोे मृत्यु

   ११ आश्विन २०७७, आईतवार १०:४८  

११ असोज, रौतटह । कोरोना भाइरस (कोभिड १९) का संक्रमणका कारण झापामा एक पुरुषको मृत्यु भएको छ । झापाको कनकाई नगरपालिका–९ घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए

आज कनकाई आर्यघाटमा परिवारको उपस्थितिमा शवको दाहसंस्कार गरिने उनले बताए । हालसम्ममा कनकाई नगरपालिकाका दुई जना कोभिड सङ्क्रमितको प्रदेश नं. १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ । कोरोना संक्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ८५ पुगेको छ । शनिबार विभिन्न अस्पतालमा गरिएको परीक्षणबाट थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सक्रिय संक्रमितमध्ये अछाममा १३०, बैतडीमा ८०, बझाङ्गमा ११३, डडेल्धुरामा ११, दार्चुलामा ३५, डोटीमा १३८, कैलालीमा ५३१, र कञ्चनपुरमा ४७ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा गरिएको परीक्षणमा कैलालीका ५४, कञ्चनपुरका १३, बैतडीका २, डोटीका १५ र अछामका १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्की ले जानकारी दिए ।

प्रदेशमा निको हुने संक्रमित संख्या पनि ५ हजार ८८३ पुगेको छ । विभिन्न अस्पतालबाट थप १० जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ५ हजार ८८३ पुगेको उनले बताए ।

त्यसैगरी विभिन्न अस्पतालहरुमा ५३ कोरोना संक्रमितको उपचार भईरहेको छ । कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा १३, टिकापुर १२, महाकाली १३, अछाम १०, डोटी २, र डडेल्धुरामा ३ जनाको उपचार भईरहेको छ । प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।