दम्पतीमाथि आक्रमण, महिलाको मृत्यु
१० असोज, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा गए राति एक महिलाको हत्या भएको छ । देवाही गोनाही ५ टिकुलियामा दम्पती माथि धारिलो हतियारले आक्रमण हुदा महिलाको ज्यान गएको हो ।
आपसी रिसिवीका कारण टिकुलियाका महेश तिवारी र उनकी पत्नी जगरामी देवी उपर आक्रमण भएको प्रहरीले जनाएको छ । चार जनाको समुहले खुकुरी लगायतको धारिलो हतियारले प्रहार गर्दा जगरामी देवीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले तिनजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।
आक्रमण बाट घाइते भएका दम्पतीलाई उपचारको लागी वीरगंज लगिएकोमा महिलाको मृत्यु भएको र पुरुषको अवस्था गम्भीर रहेको उनले बताए । जग्गा विवादका कारण परेको मुद्दामा साक्षी बसेका महेश तिवारीलाई शुक्रवार साँझ देवाही गोनाही–५ का सोनालाल मुखिया, प्रजित मुखिया र बलिराम मुखिया सहित चार जना मिलेर दम्पतीलाई आक्रमण गरेका थिए ।
जग्गा विवादमा साक्षी बसेको भन्दै तिवारी दम्पतीमाथि आक्रमण भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ ।