विजय राम हत्याकाण्डको प्रतिवेदन पेश

   ९ आश्विन २०७७, शुक्रबार १४:०५  

 

९ असोज, रौतहट । ईलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तको प्रहरी यातनाको कारण मृत्यु भएको प्रकरणको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन पेश गरेको छ ।

गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा गत साउन ३२ गते पक्राउ परेका १९ वर्षीय विजय रामको प्रहरी हिरासतमा मृत्यु भए पछि परिवारजन, स्थानिय तथा दलित अगुवाहरुले प्रहरी विरुद्ध आन्दोलन गरेका थिए । हिरासतमा यातना दिने प्रहरीलाई कारवाहीको माँग सहित गरिएको आन्दोलन पछि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय, चन्द्रनिगाहापुरका उप–सचिव जोरेन्द्र अर्यालको नेतृत्वमा तिन सदस्यीय छानविन समिति गठन गरेको थियो ।

विजय रामको यातनाकै कारण मृत्यू भएको निष्कर्ष सहित छानबिन समितिले प्रतिवेदन बुझाएपछि रौतहटका तत्कालिन एसपी रविराज खडका र डिएसपी ज्ञानकुसमार महतो सहित अन्यलाई विभागीय कारवाही गर्ने तयारी गरिएको छ । छानविन समितिले बुझाएको प्रतिवेदनमा एसपी र डिएसपी सहित सई वीरेन्द्र यादवलाई पनि दोषी उल्लेख गरिएको छ ।

हिरासतमा यातना दिने प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र हिरोज मियालाई कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सिफारिस गरिएको छ । तीनै जनालाई प्रदेश नं. २ प्रहरी कार्यालयले १६ भदौमै निलम्बन गरिसकेको छ ।

मृत्यु अघिको भिडियो सन्देशमा विजय रामले आफूलाई कसुर स्वीकार गराउन प्रहरीले निर्घात कुटपीट गरेको बताएका थिए । प्रहरीका कारण दलित युवकको मृत्यु भएको भन्दै परिवारजन र स्थानियले रौतहटमा प्रर्दशन र अनसन समेत गरेका थिए ।